कांग्रेस विशेष महाधिवेशन: देउवा समूह छाडेका ७ नेता पदाधिकारीमा चयन
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार राति सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको समूहमा रहेका सात जना प्रभावशाली नेताहरूले कित्ता परिवर्तन गरी गगन समूहबाट नयाँ कार्यसमितिमा चयन भएका छन् ।
पार्टीको सभापतिमा गगन थापा चयन हुँदा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । देउवा समूह छाडेर आएकी पुष्पा भुसालले उपसभापति पदमा बाजी मारेकी हुन् ।
समावेशी सहमहामन्त्रीतर्फ पनि देउवा समूह छाडेर आएका नेताहरूकै वर्चस्व देखिएको छ । सहमहामन्त्रीहरूमा महिला कोटाबाट डिला संग्रौला पन्त, आदिवासी जनजातिबाट बहादुर सिंह लामा, र खस आर्यबाट उदयशमशेर राणा निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सबैले देउवा समूह छाडेर नयाँ समीकरणलाई साथ दिएका थिए ।
त्यसैगरी, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी, मधेसीबाट मुक्ता कुमारी यादव, र पिछडिएको क्षेत्रबाट कर्ण बहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन्। दलित कोटाबाट भने प्रकाश रसाइली (स्नेही) सहमहामन्त्री बनेका छन् । यीमध्ये मुक्ता कुमारी र प्रकाश रसाइली बाहेकका अन्य पाँचै जना सहमहामन्त्रीहरू पनि देउवा समूहबाट अलग भएका नेताहरू हुन् ।