सिरहामा ४० ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
सिरहामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो करिब सवा १२ बजेको समयमा नवराजपुर गाउँपालिका वडा नं. ५ झाझपट्टीस्थित सडक खण्डमा चेकजाँचका क्रममा २२ वर्षीय श्रवनकुमार कामैत पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्दा उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको लागुऔषध फेला परेको हो ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले कामैतको खानतलासी गरेको थियो । उनको ज्याकेटको खल्तीमा रहेको स्टिलको बट्टाभित्र लुकाई राखिएको अवस्थामा बट्टाबाहेक ३९.९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका कामैत सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार कामैतमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।