सदस्य सचिव शर्माको नियुक्ति बदर गर्न माग गरिएकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै रिटलाई अग्राधिकारमा राख्न भनेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ८ का भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधवार रिट दर्ता गरेका थिए ।
सदस्य–सचिव शर्माको उमेर हदका कारण देखाउँदै नियुक्ति बदरको माग गर्दै रिट निवेदनमा माग गरिएको छ । सरकारले कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि उमेर हदको व्यवस्था कानुनमा गरेको र सर्वोच्च अदालत तथा संवैधानिक आयोगहरूमा समेत ६५ वर्षमा अवकाश हुने व्यवस्था रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्मा ७० वर्ष उमेर पूरा गरिसकेको दाबी रिट निवेदनमा गरिएको छ ।
७० वर्ष उमेर पूरा गरिसकेको व्यक्ति पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुन नपाउने रिट निवेदक लुइँटेलको दाबी छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृति मन्त्री अनिलकुमार सिन्हाले गत मङ्सिर २९ गते प्रकाशमणि शर्मालाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । कोषका सदस्य–सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।