‘डमी’ बन्दूक र पेस्तोलसहित कोटेश्वरबाट २ युवा पक्राउ
‘डमी’ बन्दूक र पेस्तोलसहित कोटेश्वरबाट २ जना पक्राउ परेका छन् । प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कली हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षिय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार १ थान,कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान बरामद गरेको छ ।
सीसी टिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२(०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आएसँगै उनलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।