वाणिज्य बैंकको नाफामा उठ्दै नउठेको ब्याजको भार, दोस्रो त्रैमासमा २८ प्रतिशत योगदान
काठमाडौं, १६ माघ — चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले आर्जन गरेको खुद नाफामा उठ्दै नउठेको ब्याजको हिस्सा उल्लेख्य देखिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार बैंकहरूको कुल खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जसमा ८ अर्ब ५२ करोड रुपैयाँ पाकेको तर नउठेको ब्याजको योगदान रहेको छ। यो कुल नाफाको २७.८७ प्रतिशत हो।
नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) अनुसार बैंक तथा वित्तीय संस्थाले पाकेको तर नउठेको ब्याजलाई पनि आम्दानीमा समावेश गर्न पाउने व्यवस्था छ। यद्यपि, नियामकीय समायोजनमार्फत यस्तो आम्दानी घटाउने अभ्यास पनि रहँदै आएको छ।
चालु आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकहरूको उठ्न बाँकी ब्याज ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याजभन्दा उठेको बक्यौता ब्याज बढी रहेको देखिन्छ। गत आव दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो, जसमा १ अर्ब ४४ करोड रुपैयाँ बक्यौता उठेको ब्याजको योगदान थियो।
बैंकहरूले पाकेको तर नउठेको ब्याजलाई आम्दानीमा बाँध्दा नाफा बढेको देखिए पनि यसले बैंकिङ क्षेत्रको वास्तविक वित्तीय अवस्था झल्काउँदैन। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार उठ्न बाँकी ब्याज बढ्नु सकारात्मक संकेत होइन।
कोरोना महामारीपछि आएको आर्थिक मन्दी, त्यसमा थपिएको जेन–जी आन्दोलनका कारण कर्जाको साँवाब्याज असुली चुनौतीपूर्ण बनेको छ। कर्जा असुली कमजोर हुँदा बैंकहरूको खराब कर्जा पनि बढ्दो क्रममा छ। चालु आव पुससम्म बैंकहरूको औसत खराब कर्जा अनुपात ५.०७ प्रतिशत पुगेको छ।
खराब कर्जा घटाउने उद्देश्यले बैंकहरूले धितो सकार गर्ने क्रम बढाउँदा गैरबैंकिङ सम्पत्ति (एनपीए) थुप्रिन थालेको छ। घरजग्गा कारोबारमा आएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति अझै बढिरहेको छ।
चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा १३ अर्ब १४ करोड रुपैयाँ रहेको थियो, जसमा ७ अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी ब्याज थियो। यस अवधिमा उठ्न बाँकी ब्याजको हिस्सा ५५.५७ प्रतिशत पुगेको थियो। दोस्रो त्रैमासमा यस्तो ब्याज रकम करिब डेढ अर्ब रुपैयाँले थपिएको छ।
बैंकगत रूपमा हेर्दा चालु आव पुससम्म एनआईसी एसिया बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा बढी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ, जसको उठ्न बाँकी ब्याज १ अर्ब रुपैयाँभन्दा बढी छ।
गत आर्थिक वर्षको सोही अवधिमा केही बैंकहरूले उठ्न बाँकी ब्याज उठाइसकेका थिए भने चालु आवको दोस्रो त्रैमासमा सबै वाणिज्य बैंकको उठ्न बाँकी ब्याज कायम रहेको छ।