ब्रिटिश कलेजको अनुमति खारेज गर्न १२ विद्यार्थी संगठनको माग
काठमाडौंमा सञ्चालित ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन् । कलेजले हस्पिटालिटी विजनेस म्यानेजमेन्ट लगायत शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाएको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको र भर्ना गरिएका विद्यार्थीहरूलाई यूएईमा अलपत्र पारेको विषयमा त्यहाँका विद्यार्थीहरू आन्दोलनरत् छन् ।
संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट आइतबार विज्ञप्ति जारी गर्दै पटक-पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा ब्रिटिश कलेजका सञ्चालकले विद्यार्थीहरूमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भइरहेकोमा आपत्ति जनाएका छन् । उनीहरूले यस्तो हर्कत गर्ने ब्रिटिश कलेजको अनुमति रद्द गरी ठगीधन्दामा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।