भीमफेदीको जुरिखेतमा कार दुर्घटनामा परी ३ जना घाइते
मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी– कुलेखानी– काठमाडौँ सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो २ः०० बजेको समयमा दुर्घटनामा घाइते भएकाहरूलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको उनले बताए ।