सिन्धुलीमा बैंक लुट: नकावधारी समूहद्वारा ३ करोड, चालक नियन्त्रणमा
काभ्रेको बनेपाबाट गएको नकावधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकको रकम लुटेको छ। मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरी ६ जनाको नकावधारी समूह फरार भएको हो।
मंगलबार साँझ करिब ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरी सेफमा राखिएको रकम लुटेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले खोजतलास गर्दा नजिकैको जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरीले लुटेराहरू आएको टाटा सुमो र उक्त सवारीका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका रहेको र सबै लुटेरा बनेपाबाटै सवारी चढेर आएको खुलेको छ। फरार अन्य लुटेराको खोजी कार्य जारी रहेको एसपी सुवेदीले जानकारी दिए।