माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ।
आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्मको प्रगति विवरण प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा शुक्रबार प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन्।
आचारसंहितामा निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र गर्न नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको भूमिका र जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायहरूको प्रमुख भूमिका रहने आयोगको बुझाइ छ। निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन सबै पक्षले आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने आयोगले आग्रह गरेको छ।