मेयर बालेन शाह माघ ४ गते राजीनामा दिने तयारीमा
काठमाडौँ, २९ पुस — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले त्यसअघि नै मेयर पदबाट राजीनामा दिन लागेका हुन्। निर्वाचन आयोगका अनुसार माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ। सो मितिभन्दा अगावै उनले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार माघ ४ गते मेयर पदबाट राजीनामा दिएपछि उनी भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ। त्यसपछि उनी मधेश प्रदेशतर्फ जाने बताइएको छ।
मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा मेयर शाहले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन्।
मेयर शाहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रूपमा निर्वाचनमा जाने विषयमा सहमति भएको दाबीसमेत स्रोतले गरेको छ।