पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्र भवन प्रयोगबारे अख्तियारको अनुसन्धान
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसमा रहेको सूचना तथा सञ्चार प्रविधि केन्द्र भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ।
स्रोतका अनुसार अख्तियारले भवनको व्यवस्थापन, प्रयोग अवस्था तथा आर्थिक विवरणसम्बन्धी कागजातहरू सङ्कलन गरिरहेको छ। शैक्षिक प्रयोजनका लागि निर्माण गरिएको उक्त भवनलाई व्यावसायिक तथा व्यापारिक गतिविधिमा प्रयोग गरिएको हुन सक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको एक उच्च अधिकारीले बताए।
उनका अनुसार भवन प्रयोगसँग जोडिएर आर्थिक दुरुपयोग भएको हुन सक्ने विषयमा समेत छानबिन भइरहेको छ। आवश्यक कागजात र विवरणको अध्ययनपछि थप अनुसन्धान अघि बढाइने अख्तियारको भनाइ छ।
पुल्चोक क्याम्पसमा रहेको उक्त सूचना तथा सञ्चार प्रविधि केन्द्र भवन कोरियाली सरकारको सहयोगमा निर्माण गरिएको हो। यो भवन नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको अध्ययन, प्रयोगशाला तथा शैक्षिक गतिविधिका लागि प्रयोग गर्ने उद्देश्यले सहयोग प्राप्त भएको बताइएको छ।
यद्यपि, यस विषयमा पुल्चोक क्याम्पस प्रशासनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।