गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त
सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
साथै बैठकले इसीमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम २ लाख ८३ हजार ५०३ बुझाउन अनुमति दिने निर्णय पनि गरेको छ ।
त्यसबाहेक मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/८७ सम्मका स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी २०२५ मार्चमा भूकम्पबाट क्षतिग्रस्त बनेको म्यानमारको माहामुनी बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माण गर्न अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतबार ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्नवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।