नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकता
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टीबीच आज पार्टी एकता भएको छ। दुई पार्टीबीच दुई बुँदे सहमति गर्दै औपचारिक रूपमा एकीकरण गरिएको हो।
एकता सहमतिअनुसार लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको लिम्बुवान पहिचानसम्बन्धी मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ।
सहमति पत्रमा भनिएको छ, “नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद तथा वैज्ञानिक समाजवादलाई स्वीकार गर्दै लिम्बुवानको पहिचानको मुद्दा उठाइरहेको पार्टी लिम्बुवान क्रान्तिकारी पार्टीबीच दुई बुँदामा एकता गर्ने सहमति गरिएको छ।”
यसैगरी, लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानका साथ उपयुक्त ढङ्गले नेपाली कम्युनिष्ट पार्टीको संरचनामा समायोजन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
पार्टी एकताले देशको कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ बनाउने र पहिचानसम्बन्धी मुद्दालाई संस्थागत बहसमार्फत अगाडि बढाउन सहयोग पुग्ने नेताहरूको भनाइ छ।