थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध
थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छन्। पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौँ अधिवेशनले तुलाचनसहित २७ सदस्यीय केन्द्रीय समिति आगामी तीन वर्षका लागि निर्विरोध चयन गरेको हो।
अध्यक्ष पदमा शान्ति तुलाचन र कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दसत्रमा सहमतिका आधारमा तुलाचनलाई अध्यक्ष चयन गरिएको हो।
नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना–तातोपानी (म्याग्दी) क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन तथा बेनी क्षेत्रबाट शान्ति भट्टचन निर्वाचित भएका छन्।
यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ. रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संजय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन तथा काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ. रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिइन्।
केन्द्रीय समितिको आयोजनामा तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबारसम्म तीन दिन चलेको अधिवेशनमा नेपालका २० वटा र विदेशका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।