रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अहिले बहस र जवाफी बहस जारी छ । सहकारी ठगीमा मुछिएका रवि र उनका साझेदाहरूलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता सविता भण्डारी र सह-न्यायाधिवक्ता सञ्जीवराज रेग्मीसमेत बहसमा छन् ।
रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठलगायतले बहस गरेका छन् । मुद्दा दायरकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गरेका छन् । महान्यायाधिवक्ताको कार्यालय नागरिक सरकारको नेतृत्वको आडमा गत पुस ३० गते रविविरुद्धका गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।