अनावश्यक रिफर नगर्न स्वास्थ्य बिमा बोर्डको निर्देशन
काठमाडौं — स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अनावश्यक रिफरका कारण बिरामीले अनावश्यक सास्ती भोग्नुपर्नुका साथै अनावश्यक स्वास्थ्य परीक्षणसमेत हुने भएकाले यस्तो अभ्यास रोक्न निर्देशन दिइएको हो।
बोर्डले सोमबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी बिरामीलाई अन्यत्र पठाउने कार्य नगर्न आग्रह गरेको छ।
परिपत्रमा भनिएको छ, “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै तथा उपलब्ध गराउनुपर्ने सेवा प्रदान नगरी स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकाले त्यस्तो कार्य नगर्नुहुन अनुरोध छ।”
बोर्डले कुनै सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा प्रेषण पुर्जी भरी उक्त सेवा सुनिश्चित हुने गरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा बिरामी पठाउन निर्देशन दिएको छ।
यस्तै, अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजुका क्रममा त्यस्तो खर्च भर्ना नगरिने र स्वास्थ्य बिमा नियमावली २०७५ को अनुसूची–८ को दफा ४(ग) बमोजिम सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्दसमेत हुन सक्ने भनी बोर्डले चेतावनी दिएको सूचना अधिकारी मल्लले जानकारी दिए।