राष्ट्रिय सभा निर्वाचनमा जसपा नेपालका उम्मेदवार निष्क्रिय हुने
काठमाडौं, २७ पुस — राष्ट्रिय सभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निष्क्रिय हुने भएका छन्।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार १२ बुँदे सहमति भएको छ। उक्त सहमतिमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जसपा नेपालका उम्मेदवार निष्क्रिय बनाउने विषय समावेश गरिएको छ।
महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमतिअनुसार मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जसपा नेपालले महिला, अल्पसंख्यक र दलित समूहमा दिएको उम्मेदवारी निष्क्रिय गर्ने सहमति गरिएको उल्लेख छ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सदस्य हुन् भने बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता भएको थियो।
सो क्रममा मधेश प्रदेशबाट जसपा नेपालका तर्फबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो। अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भए पनि सहमतिअनुसार उनीहरूको उम्मेदवारी निष्क्रिय पारिने भएको हो।