गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखिएको छ।
विशेष महाधिवेशन सकिएको ८ दिनपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका हुन् ।
गगन यस पटक परम्परागत काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार हुँदैछन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन सकिएको ८ दिनपछि सानेपा छिरेका गगनलाई उनका सहयात्री विश्वप्रकाशले पार्टीमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन् ।
उक्त प्रस्ताव राखेका विश्वप्रकाश आफैं भने यस पटक झापा क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छैनन् । उनले लगातार तीन पटक उठेकाले यस पटक विश्राम लिएको बताएका छन् ।
यसअघि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गरिसकेका छन् ।