आगामी निर्वाचनमा AI प्रयोगबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
काठमाडौं — आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रक्रि याको पारदर्शिता, सूचनाको विश्वसनीयता तथा प्रविधिको जिम्मेवार प्रयोगबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ।
गृह मन्त्रालयमा सम्पन्न छलफलमा गृह मन्त्री ओमप्रकाश आर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर तथा रणनीतिक सल्लाहकार एवं कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ सिमोन ढुंगाना सहभागी हुनुहुन्थ्यो। बैठकमा निर्वाचन प्रक्रियामा सरकार, निर्वाचन आयोग र प्रविधि क्षेत्रबीच आवश्यक समन्वयका विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो।
छलफलका क्रममा निर्वाचन प्रक्रियाको निष्पक्षता, सार्वजनिक जवाफदेहिता, गलत सूचना नियन्त्रण तथा तथ्यमा आधारित सूचना प्रवाहलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको थियो। सहभागीहरूले निर्वाचनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न पारदर्शी सूचना प्रणाली अपरिहार्य रहेको धारणा व्यक्त गरे।
गृह मन्त्री आर्यालले जनताको अपेक्षा अनुरूप सुशासन, सुरक्षा र लोकतान्त्रिक अभ्यास सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै निर्वाचन प्रक्रियामा निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्नु सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
निर्वाचन आयुक्त डा. तुलाधरले निर्वाचन आयोग स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रविधि र सूचनाको सही प्रयोगले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो।
छलफलमा HamroNeta.Online डिजिटल प्लेटफर्ममार्फत उम्मेदवार तथा संवैधानिक निकायसम्बन्धी प्रोफाइल सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो। यसले नागरिकलाई निर्वाचनसम्बन्धी तथ्यपरक सूचना सहज रूपमा उपलब्ध गराउने, पारदर्शिता बढाउने र मतदातालाई सचेत निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रणनीतिक सल्लाहकार तथा AI विशेषज्ञ ढुंगानाले निर्वाचन प्रक्रियामा प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दा पारदर्शिता, उत्तरदायित्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षण अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो।
सार्वजनिक बिदाका दिन सम्पन्न उक्त बैठकले निर्वाचनसम्बन्धी विषयलाई सरकारले दिएको प्राथमिकता र गम्भीरतालाई प्रस्ट रूपमा देखाएको सहभागीहरूको भनाइ छ।
