वैदेशिक रोजगारीमा बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै १८ करोड बढी ठगी
वैदेशिक रोजगारीका लागि युरोपेली देश बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै एक कन्सल्टेन्सीले १८ करोडभन्दा बढी पैसा उठाएको पाइएको छ ।
१ सय २० जनाभन्दा बढी व्यक्तिबाट १८ करोड रुपैयाँ भन्दा बढी उठाएर कन्सल्टेन्सी सञ्चालक फरार भएका हुन् । कोटेश्वर नजिकै रहेको कोज्मो कन्सल्टेन्सी सञ्चालक बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै पैसा उठाएर सञ्चालक फरार भएका हुन् ।
४ जनवरीमा भारत नयाँदिल्ली मार्फत जानुपर्ने भन्दै पीडितलाई गाडीमा पठाउने भनिएको थियो । तर, त्यही दिन कन्सल्टेन्सी बन्द गरेको पाइएपछि पीडितहरू कन्सल्टेन्सी पुगेका थिए । त्यहाँ पुग्दा कार्यालयमा ताला लागेको थियो ।
त्यसपछि बुझ्दै जाँदा आफूहरूबाट पैसा उठाएर सञ्चालक फरार भएको थाहा पाएका थिए । १ सय २० भन्दा बढी पीडित ठगिएको पैसा उठाउन प्रहरी र वैदेशिक रोजगार विभाग पुगेका छन् । कन्सल्टेन्सीले प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म उठाएको पाइएको छ ।