नेपाली कांग्रेस विशेष महाधिवेशनः सहमहामन्त्रीमा दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, २९ पुस — नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि गठित निर्वाचन समितिमा हालसम्म पदाधिकारीतर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ।
दुवै उम्मेदवारी सहमहामन्त्री पदका लागि परेको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्री पदमा थारु क्लस्टरबाट डा. गोपाल दहित (बर्दिया) र खस आर्य क्लस्टरबाट भरतबहादुर खड्का (डोटी) ले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समितिका अनुसार सभापति, उपसभापति तथा महामन्त्री पदका लागि भने हालसम्म कुनै पनि उम्मेदवारी दर्ता भएको छैन।
विशेष महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता कार्य तोकिएको कार्यतालिकाअनुसार अघि बढिरहेको समितिले जानकारी दिएको छ।