निष्पक्ष र सुरक्षित निर्वाचन सुनिश्चित गर्न सरकारसँग ओलीको माग
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति, सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
एमालेको ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा धाँधली वा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिए।
“निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय हुनुपर्छ,” उनले भने, “सरकारले सबै दल र उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नुपर्छ।”
अध्यक्ष ओलीले जिल्लाको विकास र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइएको उल्लेख गर्दै मतदातालाई थापालाई मतदान गर्न आग्रह गरे।
सो अवसरमा उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गाका जनताले दिएको मत कहिल्यै गलत कार्यमा प्रयोग नगर्ने प्रतिबद्धता जनाउँदै सकारात्मक काममार्फत आफूलाई असल छोरी र जिम्मेवार जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गरिन्।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवारको उपस्थितिले ओखलढुङ्गामा ठूलो उत्साह र आशा पैदा भएको धारणा राखे।