प्लास्टिकको उत्पादन र बिक्रीमा कडाइ, दुई उद्योगलाई १ लाख १ हजार जरिवाना
काठमाडौं — प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ।
विभागले पछिल्ला केही दिनदेखि प्लास्टिक उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने फर्महरूमा स्थलगत अनुगमन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला उत्पादन तथा बिक्री नगर्न सचेत गराउँदै आएको छ।
अनुगमनका क्रममा विभागले शुक्रबार ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार उक्त उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नराखेको र उद्योग दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी नराखेको पाइएकाले जरिवाना गरिएको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, एटिएल प्रोडक्सन हाउसलाई पनि उद्योग दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी नराखेको पाइएको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।
विभागले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै प्लास्टिकको उत्पादन तथा बिक्री वितरणमा देखिएको वेथिती नियन्त्रण गर्न निरन्तर अनुगमन गरिरहेको जनाएको छ। उद्योग, वितरक तथा आयातकर्तालाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्री वितरण नगर्न कडाइका साथ सचेत गराइएको छ।
विभागका अनुसार शुक्रबार १२ वटा उद्योग तथा फर्ममा अनुगमन गरिएको थियो भने बिहीबार १९ वटामा निरीक्षण गरिएको थियो। यसअघि पुस २३ गते १४ वटा फर्ममा अनुगमन गर्दै चार फर्मलाई कुल १ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको थियो। त्यसैगरी पुस २२ गते १७ वटा फर्ममा अनुगमन गर्दा दुई फर्मलाई ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।
प्लास्टिकको अनाधिकृत र अत्यधिक प्रयोगले वातावरणीय समस्या बढ्दै गएको भन्दै विभागले आगामी दिनमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।