आपत्तिजनक सन्देश पठाउने सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी
नेपाल टेलिकमले आफ्ना भ्याल्यू एडेड सेवा प्रदायकहरूलाई जथाभावी र आपत्तिजनक सन्देश नपठाउन निर्देशन दिएको छ। केही सेवा प्रदायकहरूले स्वीकृत व्यवसायभन्दा बाहिर गई सामाजिक, धार्मिक र राजनीतिक सद्भावमा खलल पुर्याउने खालका सन्देशहरू प्रवाह गरेको गुनासो प्राप्त भएपछि टेलिकमले यस्तो कदम चालेको हो।
टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा असर पर्ने कुनै पनि सन्देश सर्वसाधारणको मोबाइलमा प्रवाह नगर्न सचेत गराएको छ।
यदि यस्ता कार्य पुनः दोहोरिएमा सम्झौताको प्रावधान बमोजिम सेवा प्रदायकसँगको सम्झौता नै रद्द गर्ने चेतावनी टेलिकमले दिएको छ। सेवा प्रदायकहरूले ग्राहकको आवश्यकता बमोजिम सन्देश पठाउनुपर्ने र त्यसमा आवश्यक नियन्त्रण कायम गर्नुपर्ने टेलिकमको भनाइ छ।
यसैबीच, टेलिकमले आफ्ना ग्राहकहरूको मोबाइल नम्बर वा अन्य व्यक्तिगत विवरण कुनै पनि सेवा प्रदायकलाई उपलब्ध नगराएको स्पष्ट पारेको छ। ग्राहकको गोपनीयताप्रति आफू सदैव संवेदनशील रहेको उल्लेख गर्दै टेलिकमले आगामी दिनमा पनि गोपनीयताको पूर्ण सम्मान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।