रौतहटको ४ सिटमा १४३ जनाको उम्मेदवारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारै निर्वाचन क्षेत्रमा मंगलबार दलगत तथा स्वतन्त्र गरी कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको सङ्ख्या उल्लेख्य भए पनि महिलाको सङ्ख्या भने निकै कमजोर देखिएको छ। दर्ता भएका कुल उम्मेदवारमध्ये १३० पुरुष र १३ महिला रहेका छन्।
निर्वाचन क्षेत्र १ मा दलगत र स्वतन्त्र गरी ३९ उम्मेदवार मैदानमा उत्रिएका छन्। यसमध्ये १८ दलगत र २१ स्वतन्त्र उम्मेदवार रहेका छन्। यहाँ ३ महिला र ३६ पुरुष उम्मेदवार दर्ता भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन्।
निर्वाचन क्षेत्र २ मा २६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। १४ दलगत र १२ स्वतन्त्र उम्मेदवार रहे पनि महिला उम्मेदवार शून्य रहेको निर्वाचन अधिकृत सीताराम खड्काले बताएका छन्।
त्यसैगरी, क्षेत्र ३ मा ४१ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। यसमा १६ दलगत र २५ स्वतन्त्र उम्मेदवार रहेका छन् भने महिला उम्मेदवार ३ जना मात्र छन्। निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाहाका अनुसार यहाँ पनि पुरुष उम्मेदवारको वर्चस्व देखिएको छ।
क्षेत्र ४ मा ३७ उम्मेदवार दर्ता भएका छन्। दलगततर्फका १७ उम्मेदवार सबै पुरुष रहेका छन् भने स्वतन्त्रतर्फ २० मध्ये ७ महिला र १३ पुरुष उम्मेदवार छन्। निर्वाचन अधिकृत उद्धव ढोडारीले यस क्षेत्रमा स्वतन्त्रतर्फ महिलाको सहभागिता तुलनात्मक रूपमा केही बढी रहेको जानकारी दिएका छन्।
चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको चाप बढेसँगै चुनावी सरगर्मी तातेको छ।