नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति
भक्तपुर — बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ।
मन्त्रालयको माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई ५० शय्याको जनरल अस्पतालका रूपमा थप सञ्चालन गर्न अनुमति दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिए।
आज मन्त्री थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमसहितको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण गर्ने क्रममा अस्पतालको स्तरोन्नतिसम्बन्धी निर्णय सार्वजनिक गरिएको हो। सो अवसरमा मन्त्री थापाले अस्पतालको नयाँ भवन निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिए।
मन्त्री थापाले शय्या थपको अनुमति बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गर्दै यसले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै उपचारको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।
निरीक्षणका क्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र प्रशासकीय अधिकृत रूपेश श्रेष्ठले मन्त्री थापालाई अस्पतालले हाल प्रदान गरिरहेको सेवासुविधा र आगामी योजनाबारे जानकारी गराएका थिए।
नेपाल–कोरियामैत्री अस्पताल सन् १९९९ मा ‘किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्र’का रूपमा स्थापना भएको हो। नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार १४ सेप्टेम्बर २००९ मा यसलाई ५० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दै नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल नामाकरण गरिएको थियो।
अस्पतालले कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) को करिब ९५ लाख अमेरिकी डलर (झन्डै १ अर्ब २५ करोड रुपैयाँ) अनुदान सहयोगमा १०१ शय्याको नयाँ भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
नयाँ भवन निर्माण तथा सेवा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी लगायतका विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशनले जानकारी दिए।