प्रधानमन्त्री कार्कीसँग तामाङ घेदुङको भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति तथा आर्थिक–सामाजिक अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
भेटका क्रममा घेदुङले यही माघ ५ गते सोनाम ल्होछारको अवसरमा काठमाडौँमा आयोजना गर्न लागिएको तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको छ ।
घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी रहे पनि जनगणनामा भएको त्रुटिका कारण करिब १७ लाख मात्र देखिएको भन्दै त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट लोकतान्त्रिक निकास दिन निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख गर्दै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।
“मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातर्फ लैजाने चुनाव हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “भदौ २३ र २४ गतेलाई सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । अब बारम्बार यस्तो अवस्था दोहोरिनु हुँदैन ।”
प्रधानमन्त्री कार्कीले युवाको आकांक्षाअनुसार राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आउँदो चुनावमा नयाँ, युवा र इमानदार प्रतिनिधि संसद्मा पुग्नुपर्ने बताइन् । पुरानो सोच, शैली र मानसिकताले अब देश नचल्ने उल्लेख गर्दै उनले युवाको भावना बुझ्ने नेतृत्व आवश्यक रहेको धारणा राखिन् ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनमा हुने अनावश्यक चलखेल र गलत गतिविधि रोक्न समुदायस्तरबाटै चनाखो हुनुपर्ने बताइन् । “भ्रष्टाचार अन्त्य गर्न चुनावबाटै पहल हुनुपर्छ । मतदाता स्वयं सजग बन्नुपर्छ,” उनले भनिन्, “विगतमा देखिएका गलत अभ्यास र प्रवृत्तिलाई अब निरुत्साहित गर्न आवश्यक छ ।”