भक्तपुरको नगदेशमा पुलुकिसी नाच प्रदर्शन
काठमाडौं, १६ माघ — भक्तपुरको थिमि नगरपालिका–७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ।
नेवा: ऐतिहासिक सांस्कृतिक भजन खल: को आयोजनामा शुक्रबार साँझ नगदेशमा उक्त नाच प्रस्तुत गरिएको हो। परापूर्वकालदेखि नै नगदेशमा जात्राको रूपमा मनाइँदै आएको पुलुकिसी नाच स्थानीय सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।
पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरूमध्ये एक प्रमुख नाचका रूपमा परिचित छ। यो नाच स्वस्थानी व्रतकथामा आधारित रहेको छ। स्थानीय संस्कृतिविद्हरूका अनुसार नगदेशमा यो नाच सय वर्षभन्दा लामो समयदेखि निरन्तर रूपमा प्रदर्शन हुँदै आएको छ र नाचको सम्पूर्ण विधि स्वस्थानी व्रतकथाअनुसार सञ्चालन गरिन्छ।
नेवा: ऐतिहासिक सांस्कृतिक भजन खल: का अध्यक्ष तुल्सीभक्त घजुले नाचको समापन भक्तपुरकै चाँगुनारायण मन्दिर परिसरमा १८ माघमा गरिने जानकारी दिए। उनका अनुसार समापनका दिन विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।