विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुन सभापतिलाई सहमहामन्त्री मन्सुरको आग्रह
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष महाधिवेशनअन्तर्गत भोलि हुने बन्दसत्रमा उपस्थित भई सम्बोधन गर्न पार्टी सभापतिलाई आग्रह गरेका छन्। उनले बन्दसत्रमा सभापतिको उपस्थितिले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।
भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्र देखिएका सबै प्रकारका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानअनुसार सञ्चालन हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए। यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनको धारणा छ।
नेता डा. चन्द्र भण्डारीले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएका माग र मुद्दालाई सम्बोधन गर्न पार्टी नेतृत्वले कदम चाल्नुपर्ने बताए।
त्यस्तै, नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्तिको अपेक्षामा रहेको उल्लेख गर्दै ती मागलाई कांग्रेसले गम्भीरतापूर्वक सुनेर सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
नेता देवराज चालिसले विशेष अधिवेशन पार्टीको आन्तरिक विषयमा मात्र सीमित नभई जेन–जी आन्दोलन र समग्र मुलुकको रूपान्तरणसँग जोडिएको बताए।
नेता केदार कार्कीले लोकतन्त्रको लाभ नेतृत्व वर्गमा मात्र सीमित भएको अनुभूति जनतामा रहेको भन्दै जनताको आवाज नसुनेको आरोपसँगै जेन–जी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताहरूले सम्बोधन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।