कैलालीमा नेकपाको टिकटको लागि रन्जितासँग प्रचण्डको परामर्श
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा उम्मेदवार टुङ्गो लगाउँदै छ ।
केही दिन पहिले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका १६ जना उम्मेदवारको विषयमा प्रदेश स्तरका नेताहरूलाई सहजीकरणको जिम्मा दिएका थिए ।
नाउपा अध्यक्ष हुँदै नेकपामा समायोजन भएकी रन्जिता श्रेष्ठ, माओवादीको तर्फबाट खगराज भट्ट, हरिराम चौधरी उत्सव, विरमान चौधरी, राजेन्द्र साउद लगायतका नेताहरूसँग प्रचण्डले केही दिन पहिले छलफल गरेका थिए ।
सुदूरपश्चिम प्रदेशका उम्मेदवारहरूको विषयमा तपाईँहरूबाटै उपयुक्त नाममा छलफल गर्नुहोस् प्रचण्डले छलफलमा भनेका थिए, ‘योग्य र लोकप्रिय उम्मेदवारलाई भन्नुहोस् माथिबाट धेरै हस्तक्षेप हुँदैन ।’
प्रचण्डले कैलालीका ५ निर्वाचन क्षेत्रबारे उपयुक्त उम्मेदवारको विषयमा आफूलाई रिपोर्टिङ गर्न उनले रन्जिता श्रेष्ठलाई जिम्मेवारी दिएका छन्।
साबिक नाउपाले कैलालीका ५ मध्ये ३ क्षेत्रमा जित हात पारेको थियो । कैलाली १,२ र ३ मा नाउपाका उम्मेदवार विजयी भएका थिए । ती क्षेत्र सहित अन्य दुई क्षेत्रमा पनि छलफल गरिरहेको छलफलमा रहेका एक नेताले बताए ।
‘संयोजक ज्यूले कैलालीको विषयमा उहाँ(रन्जिता) सँग छलफल गर्ने भन्नु भएको छ’ बैठक स्रोतले भन्यो, ‘आज दिउसो ३ बजे उहाँहरूको छलफल छ ।’
कैलालीबाट आएका नामहरूमा ३ बजे छलफल गर्ने र टुङ्गो लगाउने स्रोतले बताएको छ ।
स्रोतका अनुसार कैलाली १ बाट टिकापुर नगरपालिका मेयर रामलाल डगौरा वा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी मध्ये एक जनाको सम्भावना रहेको छ । कैलाली २ बाट राजेन्द्र साउदको सम्भावना प्रबल देखिएको छ ।
कैलाली ३ बाट विरमान चौधरीको नाममा करिब टुङ्गो लागिसेको छ । प्रकाश मिश्रले पनि आफ्नो दाबी कायमै राखेका छन् । कैलाली ४ बाट हरिराम चौधरी उत्सव र ५ प्रेम बिसीको सम्भावना रहेको छ । कैलाली ५ को लागि प्रेम आलेसँग पनि नेकपाले आफ्नो संवाद अगाडी बढाइरहेको जनाको छ ।
कैलालीका ५ क्षेत्रको विषयमा ३ बजे छलफल हुने र त्यसपछि उम्मेदवार टुङ्गो लाग्ने रन्जिता श्रेष्ठले बताइन् ।