काँकरभिट्टाबाट ६ महिनामा पौने १० अर्बको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजारले बढेको उनले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व सङ्कलन भएको छ। यो अवधिमा चार अर्ब ७२ करोड ६ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो।
यसैगरी तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ। यस्तै, छ महिनाको अवधिमा रु एक अर्ब २४ करोड सात लाख मूल्य पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख मूल्य पर्ने चार हजार ११२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख मूल्य पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्यांक छ ।