विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने : गगन थापा
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने जानकारी दिएका छन्। साथै उनले सभापतिसहित पार्टीका शीर्ष नेताहरू बन्दसत्रमा उपस्थित हुने विश्वास व्यक्त गरेका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले नेताहरूको उपस्थितिलाई उनीहरूको इच्छामा निर्भर रहेको उल्लेख गर्दै अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिहरूकै हातमा रहेको बताए।
“भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ। नेताहरू आउने–नआउने उहाँहरूको मर्जी हो, तर निर्णय गर्ने तपाईंहरूको मर्जी हो,” उनले भने।
थापाले विशेष महाधिवेशनलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै पार्टी सुधारका लागि आवश्यक परे बलिदान गर्न पनि तयार रहेको बताए।
“कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ। ज्वाला जागृत गर्न आफू डढ्न पनि तयार हुनुपर्छ—नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि,” उनले भने।
नेपाली कांग्रेस सही मार्गमा उभिए मात्र देशप्रतिको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ थियो।
“यो अवसर पनि हो, चुनौती पनि हो। भोलि बिहान ८ बजे हामी सबै जम्मा हुन्छौँ। हलले जे स्थापना गर्छ, त्यही हुन्छ। कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही छैन,” थापाले भने, “महाधिवेशनले चाहे नेतृत्व परिवर्तन गर्न सक्छ, विधान परिवर्तन गर्न सक्छ। त्यो अधिकार राख्नेहरूको भेला हो यो।”