श्रीमतीको हत्या गरी श्रीमान् स्वयं प्रहरीमा आत्मसमर्पण
१६ माघ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले श्रीमतीको हत्या गरी आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन्।
प्रहरीका अनुसार ३० वर्षीय विनादे पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन्। श्रीमतीको हत्या गरेपछि उनी टिकाभैरव प्रहरी चौकीमा पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाले मदिरा सेवन गरेपछि विवाद भएको र सोही क्रममा विनादे पाख्रिनले चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या पछि शव खाटमै सुताएको अवस्थामा फेला परेको थियो।
घटना शुक्रबार बिहान भएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।