इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन विभागको आह्वान
काठमाडौँ, २९ पुस — वैदेशिक रोजगार विभागले लामो समयदेखि इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान गरेको छ।
मन्त्रिपरिषद्को ११ पुसमा बसेको बैठकले वैदेशिक रोजगारीका लागि इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार नेपाल आएका बेला श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागका अनुसार श्रम स्वीकृति प्राप्त गर्न वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि कम्तीमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसा, फेमिसमार्फत गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ।
त्यसैगरी रोजगारदातासँग गरिएको करार सम्झौता, इराकको अध्यागमनले पासपोर्टमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल परीक्षण गरेको प्रमाणसमेत आवश्यक पर्ने विभागले जनाएको छ।
श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयं सक्कल राहदानी, भिसा र करार सम्झौतासहित विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने विभागको सूचनामा उल्लेख छ।