कालिकोटमा एमालेबाट फेरि नगीन्द्र शाही एकल सिफारिस
नेकपा एमाले कालिकोटले पुनः नगीन्द्र शाही ‘नेशनल’ लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिस गरेको छ । बुधबार सदरमुकाम मान्मामा बसेको जिल्ला कमिटीको बैठकले शाहीलाई एकल सिफारिस गर्ने निर्णय गरेको एमाले कालिकोटका सचिव पुष्पराज आचार्यले बताए ।
यसअघि सोमबार काठमाडौँमा बसेको भेलाले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा शाहीसहित युवा नेता वकिल बम र सीता शाहीको नाम समावेश थियो ।
काठमाडौँमा भएको बेलामा जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जदेखि केही नेताहरू सहभागी थिए । तर, उक्त सिफारिस विवादित बन्यो । एमाले कालिकोटका केही नेताहरूले सामाजिक सञ्जालमै त्यसको प्रतिवाद गरे । साथै पार्टी केन्द्रको सर्कुलर विपरीत काठमाडौँमा बसेर कालिकोटको उम्मेदवार छनोट भएको भन्दै आलोचना भयो ।
प्रदेश पार्टी कार्यालयले पनि उक्त निर्णयप्रति विमति जनाएको थियो । लगत्तै सोमबार बेलुका नै जिल्ला सचिव आचार्यले बुधवारका लागि बैठक बोलाए ।
बुधबारको बैठकले शाहीलाई नै एकल सिफारिस गरेको आचार्यले बताए । ‘अस्ति काठमाडौँमा एक किसिमको भेला गराएर उहाँहरूले निर्णय गराउनुभयो,’ उनले भने, ‘त्यो वैधानिक थिएन । आज बैठकलाई वैधानिकता दिने काम भयो ।’