कराँते खेलाडी एरिकालाई लन्डन दूतावासमा सम्मान
बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ। बुधबार तमुधिं यूके पदाधिकारीसहित दूतावास पुगेकी एरिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले बधाईसहित सम्मान गरे। उनले एरिकाको सफलताको श्रेय प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङलाई समेत जाने बताए।
एरिकाले दूतावासको न्यानो आतिथ्यका लागि धन्यवाद दिँदै भविष्यमा विश्व नम्बर एक बन्ने लक्ष्यसहित अघि बढिरहेको बताइन्। उनले आफू कहिल्यै देश नछोड्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली खेलाडीहरूको प्रोत्साहनमा सहयोग निरन्तर रहने बताए।
गत आइतबार टर्कीको इस्तानबुलमा सम्पन्न डब्लुकेएफ कराँते वान प्रिमियर लिग (६८ केजी) मा रजत पदक जितेपछि एरिका विश्व वरियतामा १३औँ स्थानमा पुग्न सफल भएकी छन्। उनी जनवरी ३० देखि फेब्रुअरी १ सम्म बेलायतमा हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुनेछिन्, जसको सम्पूर्ण व्यवस्थापन तमुधिं यूकेले गरेको छ।
एरिकाले विश्व, एसियाली र अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्दै नेपाली कराँतेमा ऐतिहासिक उपलब्धि हासिल गर्दै आएकी छन्।