नेकपाका १२ जना केन्द्रीय सदस्यले दिए राजीनामा
नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले उम्मेदवार सिफारिस प्रक्रियामा उपेक्षा गरिएको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएका छन्। उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने निर्णय गरेको बताएका हुन्।
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट पार्टीमा आएका ती सदस्यहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनतर्फ एक जना पनि छनोट नहुनुलाई गम्भीर अपमानको रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै नैतिकताको आधारमा पार्टी छोड्ने निर्णय गरिएको जनाइएको छ। राजीनामा दिनेमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्तालगायत १२ जना केन्द्रीय सदस्य छन्।