होमनाथ दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गरेको हो।
बैठकले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई एक अग्रज र अनुभवी नेतृत्वका रूपमा स्मरण गरेको छ। स्वर्गीय दाहाल नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रवक्ता, पूर्वमन्त्री र नेपाल पत्रकार महासङ्घका पूर्वसभापति थिए। उनी राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्षसमेत रहेका थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताएका दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार स्व दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए। उनको निधनबाट पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको जनाएको छ।
कांग्रेसले दाहालको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
निधनको सम्मानमा कांग्रेसले पुस २६, २७ र २८ गते पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन्। स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिनेछ भने १३औँ दिन सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभा आयोजना गरिनेछ।