बुद्ध एयरको विमान दुर्घटनापछि प्रशासन सक्रिय, भद्रपुर विमानस्थल क्षेत्रको रुख काटियो
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि विमानस्थलको रनवे क्षेत्र आसपासका रुखहरू काटिएका छन् । काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रन–वेभन्दा करिब ३०० मिटर अगाडि पुगेर घाँसे मैदान र माटोमा भासिएको थियो । उक्त दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका थिए ।
दुर्घटनापश्चात् विमानस्थलको उडान सुरक्षामा गम्भीर प्रश्न उठेपछि स्थानीय प्रशासनले सक्रियता देखाउँदै रुख कटान गरेको हो । विगतमा भद्रपुर विमानस्थलमा लामो समय उडान भरेका पूर्व पाइलट रमेश श्रेष्ठले विमानस्थलको पूर्वतर्फ रहेको नेपाली सेनाको ब्यारेक क्षेत्रका अग्ला रुखहरूले समस्या निम्त्याएको बताउँदै आएका थिए । विशेष गरी रात्रिकालीन उडान र अवतरणमा ठुलो जोखिम निम्त्याइरहेको उनको भनाइ थियो ।
श्रेष्ठका अनुसार ती रुखहरूका कारण पाइलटहरूले जहाजलाई रन–वेमा निकै होचो गरी अवतरण गराउन समस्या हुने र अलिकति पनि प्राविधिक त्रुटि भएमा ठुलो दुर्घटना हुन सक्ने जोखिम रहन्थ्यो । उनले आफ्नो २५ वर्षे अनुभवका आधारमा यसअघि पटक–पटक यो विषयमा सरोकारवालाको ध्यान आकर्षण गराएको र यो दुर्घटनाले आफ्नो चिन्तालाई पुष्टि गरेको उल्लेख गरेका छन् ।
दुर्घटना भएसँगै अहिले विमानस्थलको एप्रोच क्षेत्रमा रहेका ती रुखहरूले उडान सुरक्षामा अवरोध पुर्याएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले रुख काट्ने प्रक्रिया अगाडि बढाएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विमानस्थलको धावनमार्ग नजिकै रहेका र उडानमा अवरोध पुर्याउन सक्ने विभिन्न प्रजातिका रुखहरू फेदैबाट काटिएको बताए । बिहीबार फेदैदेखि रुख काटिएको उनले बताए ।
यद्यपि पुस १८ को दुर्घटनाको मुख्य कारण ती रुखहरू नै हुन् वा अन्य प्राविधिक कारण पनि हो भन्ने विषयमा भने आधिकारिक छानबिन प्रतिवेदन आएपछि मात्र प्रस्ट हुने उनले बताए । प्रशासनले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न र पाइलटहरूलाई जहाज अवतरणका क्रममा सजिलो होस् भन्ने उद्देश्यले यो कदम चालेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त दुर्घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ । वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा गठित उक्त समितिले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ बमोजिम ४५ दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्नेछ ।
हाललाई सुरक्षाका उपायहरू अपनाउँदै रुखहरू काटिए पनि जहाजको प्राविधिक अवस्था, मानवीय त्रुटि वा वातावरणीय प्रभावका बारेमा समितिको अन्तिम प्रतिवेदनले नै ठोस जानकारी दिने प्रशासनको भनाइ छ ।