जीबी राईका जेठानको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनले दिएको पुनरावेदनमा उच्च अदालत पाटनले बिहीबार प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ । बमजनले साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै गत पुस २२ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका बमजनको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र अच्युत कुइँकेलको संयुक्त इजलासले प्रमाण मिसिल झिकाउने आदेश गरेको हाे ।
सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बमजन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला बमजन प्रतिवादीको सूचिमा थिए । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा भने उनी १० लाख धरौटीमा छुटेका थिए ।