भेनेजुयलामाथि अमेरिकी आक्रमणको अखिलद्वारा निन्दा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले भेनेजुयलामाथि संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणको निन्दा गरेको छ। अमेरिकाले आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गरेको घटनाप्रति संगठनले निन्दा र भर्त्सना गरेको हो।
साविक एकीकृत समाजवादी निकट अखिलका विदेश विभाग प्रमुख अशोक थापाले भनेका छन्, ‘भेनेजुयलामाथि गरिएको बर्बर र अमानवीय आक्रमण तथा निरन्तर आक्रामक गतिविधिको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ।’
अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले अमेरिकी व्यवहारले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता तथा शान्ति, न्याय र आत्मनिर्णयका मौलिक सिद्धान्तहरूको गम्भीर उल्लङ्घन गरेको दाबी गरेका छन्।
अखिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियूको दृढ विश्वास छ कि सैनिक हस्तक्षेप, आर्थिक नाकाबन्दी, राजनीतिक डरधम्की तथा सार्वभौम सरकारलाई कमजोर पार्ने प्रयासहरू कुनै पनि अवस्थामा जायज हुन सक्दैनन्। यस्ता कार्यहरूले जनताको पीडा अझ गहिरो बनाउनुका साथै विश्व शान्ति र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामाथि गम्भीर खतरा उत्पन्न गर्छन्।’
विज्ञप्तिमा संयुक्त राज्य अमेरिकालाई भेनेजुयलाविरुद्धका सबै प्रकारका आक्रमण तुरुन्त बन्द गर्न, भेनेजुयलाली जनताको गरिमा, स्वतन्त्रता तथा राष्ट्रपति निकोलास मादुरोको नेतृत्वमा रहेको जननिर्वाचित सरकारको सार्वभौमिक इच्छाको सम्मान गर्न कडा आग्रह गरिएको छ।