कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको पौडेलले जानकारी दिए ।
पौडेल कांग्रेसको पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनको विपक्षमा थिए । तत्कालीन संस्थापन शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूह पनि विशेष महाधिवेशनको विपक्षमा थियो ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।
आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा गएको देउवा समूहले अन्तरिम आदेश नपाएपछि विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा नेतृत्वको समूह शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जाँदै छ । त्यसको अघिल्लो दिन पौडेलले पदबाट राजीनामा दिएका हुन् ।
पौडेललाई १३ औँ महाधिवेशनबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएपछि मुख्यसचिव नियुक्त गरेका थिए । पौडेल राष्ट्रिय सभाका सांसद छन् ।
शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । त्यो बैठकबारे सूचना सचिव प्रकाश शर्माले निकालेका छन् ।