कांग्रेसले दियो १६५ क्षेत्रमै उम्मेदवारी, १०६ जना नयाँ
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसपालि कांग्रेसले कसैसँग पनि गठबन्धन गरेन। पछिल्ला चुनावहरूमा भने कांग्रेस गठबन्धन गर्दै आएको थियो।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले एमाले र लोसपासँग तालमेल गरेको छ। शेरबहादुर देउवा सभापति रहँदै गर्दा राष्ट्रिय सभाका लागि एमाले र लोसपासँग तालमेल गर्ने निर्णय भएको थियो। तर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भने कांग्रेसले कसैसँग पनि गठबन्धन गरेन।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। विशेष महाधिवेशनले यसअघि महासमिति बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै कसैसँग पनि गठबन्धन नगर्ने र १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
प्रवक्ता देवराज चालिसेले १६५ जना उम्मेदवार चयन गरिएकामध्ये १०६ जना नयाँ रहेको जानकारी दिए। ‘१६५ उम्मेदवार खडा गरेका छौँ, जसमा ११ जना महिला छन्। यसअघि जम्मा पाँच जनाले मात्र प्रत्यक्षतर्फ टिकट पाएका थिए,’ उनले भने, ‘युवालाई पनि प्राथमिकता दिएर टिकट वितरण गरेका छौँ।’
युवातर्फ काठमाडौं–४ मा सचिन तिमल्सेना, इलाम–१ मा निस्कल राई र रोल्पामा सुदनकुमार ओलीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
‘समयको चापबीच पनि यसपालि प्रत्यक्षतर्फका उम्मेदवारलाई समावेशी बनाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘पार्टीका सबै पक्षलाई समेट्ने प्रयास भएको छ। केही कमजोरी छन्, ती सच्याउँदै जानेछौँ।’
आग्रह वा पूर्वाग्रह नराखी टिकट वितरण गरिएको उनले बताए। पार्टीका क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामलाई प्राथमिकता दिँदै संसदीय बोर्डबाट टिकट दिइएको उनको भनाइ छ।
कांग्रेसले १३ पदाधिकारी रहेको संसदीय बोर्ड गठन गरी टिकट वितरण गरेको थियो। कतिपय क्षेत्रमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्ता ठाउँमा पार्टीले आधिकारिक उम्मेदवार को हो भन्ने जानकारी निर्वाचन अधिकृतको कार्यालयलाई गराउने नेताहरूले बताएका छन्।
सुनसरी–३ मा विजयकुमार गच्छदार र बेदनारायण गच्छदारका नाममा टिकट गए पनि विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नवलपुर–१ मा बालकृष्ण घिमिरेलाई कांग्रेसले टिकट दिएको छ भने नवलपरासी–२ मा देवेन्द्रराज कँडेलले टिकट पाएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वगृहमन्त्री रमेश लेखकलगायत नेताहरू भने चुनावमा उठेनन्।
कांग्रेसले गुटका आधारमा नभई चुनाव जित्न सक्ने नेताहरूलाई उम्मेदवार बनाइएको दाबी गरेको छ। यसपालि महाधिवेशन प्रतिनिधिहरूले पनि टिकट पाएका छन्।
रौतहट–१ बाट अनिलकुमार झा उम्मेदवार बनेका छन्। उनी सद्भावना पार्टीका अध्यक्ष हुन्। पार्टीलाई नेपाली कांग्रेसमा समाहित गर्ने उद्देश्यसहित झालाई उम्मेदवार बनाइएको नेताहरूले बताएका छन्।