विशेष महाधिवेशनको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाए
विशेष महाधिवेशन पक्षधर समूहले बहुमत जुटाउँदै दबाब बढाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार नीति र नेतृत्व दुवै नयाँ पारित गर्ने निर्णयतर्फ अघि बढेपछि सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्न निर्देशन दिएका थिए। देउवाको निर्देशनअनुसार कांग्रेस संस्थापन पक्षले मंगलबारका लागि आकस्मिक रूपमा बैठक बोलाएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
महामन्त्रीद्वय नेतृत्वको इतर समूहले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै फुटको अवस्थामा पुगेको छ। संस्थापन पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई अवैधानिक तथा पार्टी अनुशासनविपरीत भएको ठहर गरिसकेको छ।
सभापति देउवा र कार्यवाहक सभापति खड्का दुवैले विशेष महाधिवेशन बहिष्कार गरिसकेका छन्। उता, विशेष महाधिवेशन पक्षधर नेताहरूले वर्तमान नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्षसहित नीति र नेतृत्व परिवर्तन अपरिहार्य भएको दाबी गर्दै मंगलबार त्यससम्बन्धी निर्णय गर्ने तयारी गरेका छन्। यही कारण विशेष महाधिवेशन गर्नुपरेको उनीहरूको तर्क छ।