एमफिल अध्ययनरत ज्वाला नेपाल बनिन् इलाम-१ मा राप्रपाको उम्मेदवार
राप्रपाले आगामी आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न सुरु गरेको छ । पहिलो उम्मेदवारका रुपमा इलाम १ मा ज्वाला नेपालले टिकट पाएकी छन् ।
क्षेत्रीय र जिल्ला कमिटीबाट ज्वालाको एकल सिफारिस भएको थियो । त्यही आधारमा पार्टीले उनको नाम फाइनल गरेको राप्रपा स्रोतले बतायो। उनको स्थायी घर इलामको सुर्योदयन नगरपालिका-८ मा रहेको छ ।
ज्वाला हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् । उनीसँग विभिन्न संघ–संस्थाहरुमा काम गरेको अनुभव छ । वैचारिकरुपमा पहिलेबाटै राप्रपामा आस्थावान रहे पनि डेढ वर्षअघि मात्रै पार्टीको सदस्यता लिएको नेपालले बताइन् ।
उनी अहिले बिरामी भएर काठमाडौंमा छिन् । हिजो मात्रै इलामबाट काठमाडौं आएर नर्भिक अस्पतालमा भर्ना भएको उनले जानकारी दिइन् । सन्चो भएपछि इलाम फर्केर चुनावी अभियानमा जुट्ने उनको भनाइ छ ।
२०७९ को आमनिर्वाचनमा इलाम-१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए । गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एसबाट उठेका झलनाथ खनाललाई हराउँदै उनले जित हासिल गरेका हुन् । बस्नेतले २५ हजार ७ सय ५३ मत ल्याउँदा खनाललाई २३ हजार ८९ मत आएको थियो । मंगल नेसनल अर्गनाइजेसनका उम्मेदवार तेस्रो स्थानमा रहेका थिए ।