मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष गुवाजु छन् । उनी बागमती प्रदेश–०२–०२२ प ४७५७ नम्बरको मोटरसाइकल चालक हुन् ।
शुक्रबार बलेफीबाट बन्देउतर्फ आउँदै गरेका गुवाजुले चलाएको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठोक्किएको थियो ।
अगाडीको मोटरसाइकलसँग ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव खरेलले रातोपाटीलाई बताए । गुवाजुलाई सिन्धुसदावहार अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।