कांग्रेसभित्रको विवाद समाधानतर्फ, विशेष महाधिवेशनमा सहमतिको संकेत
काठमाडौँ, २९ पुस — नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ। आज दिनभर चलेको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा मोटामोटी सहमति भएको छ।
उनका अनुसार महाधिवेशनमा पेस गरिएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावसमेत प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ।
कांग्रेसको आन्तरिक विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ। समितिमा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्।
त्यस्तै नेता शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सदस्य छन् भने विशेष महाधिवेशन पक्षबाट देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्तामा सहभागी छन्।
वार्ता सकारात्मक दिशामा अघि बढेसँगै पार्टीभित्रको विवाद समाधानको सम्भावना बलियो बन्दै गएको नेताहरूको भनाइ छ।