न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिना कारागार चलान
न्यायाधीशहरूलाई सामाजिक सञ्जालबाट धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार चलान गरिएको छ । अदालतको अपहेलन मुद्दामा फरार तिमल्सिनालाई पुस १६ मा प्रहरीले पोखरामा पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
तिमल्सिनालाई केन्द्रीय कारागार सुनधारामा थुनामा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
सिधाकुरा डटकमको युट्युव च्यानलबाट प्रसारण भएको ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्चले उनलाई अदालतको अपहेलन गरेको ठहर गर्दै ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । जेनजी प्रदर्शनमा जेलबाट भागेका उनी पोखरामा लुकेर न्यायाधीशहरूलाई धम्क्याउन थालेका थिए ।
उनीबिरुद्ध प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त जगातीमा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । प्रहरीको अपराध तथ्यांक अनुसार २०८० जेठ २५ मा गौशालामा र कार्तिक १७ मा उनीबिरुद्ध दुईवटा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको एसपी आचार्यले बताए ।