सामाजिक अभियन्ता आशिका तामाङको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं, २५ पुस
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी हुन्।
उनले पछिल्ला केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने निर्णयमा पुगेको स्पष्ट पारेकी छन्।
‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु,’ तामाङले लेखेकी छन्।
जेन–जेड पुस्ताले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता महसुस गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनको भनाइ छ। उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित छ।
‘युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले विश्वास दिलाएकी छन्। भ्रष्टाचारविरुद्ध निरन्तर लडाइँ, जनसरोकारका मुद्दा र युवा भावनाको कदर आफ्नो मुख्य अठोट रहेको पनि उनले उल्लेख गरेकी छन्।
चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्ला केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन्। उनले फाउन्डेसन स्थापना गरी विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएकी छन्। भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा शहीद तथा घाइते भएकालाई दातामार्फत सहयोगसमेत गरेकी थिइन्।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताअघि तामाङलाई समानुपातिक उम्मेदवारको प्रस्ताव गरेको भए पनि उनले प्रत्यक्ष निर्वाचनबाटै उम्मेदवार बन्ने अडान लिएकी थिइन्।
सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा ९२ प्रतिशतभन्दा बढीले प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएको तामाङको दाबी छ।