विशेष महाधिवेशनलगत्तै निर्वाचन आयोगमा कांग्रेस
विशेष महाधिवेशन पक्षधर कांग्रेसले गगनकुमार थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको जानकारी निर्वाचन आयोगलाई गराएको छ । महाधिवेशनका निर्णय दल दर्ता किताबमा अद्यावधिक गर्न आवश्यक कागजातसहित सभापति थापासहितका पदाधिकारी बिहीबार आयोग पुगेका हुन् ।
थापाले पार्टी विधानको धारा १७ (२) अनुसार २७–३० पुसमा विशेष महाधिवेशन सम्पन्न भएको र आवश्यक गणपूरक संख्या पूरा गरेर कार्यसमिति चयन तथा अन्य निर्णय गरिएको बताए । प्रतिनिधिसभा निर्वाचन नजिक रहेकाले निर्णय यथाशीघ्र अभिलेखीकरण गर्न उनले आग्रह गरे ।
कार्यसमिति बैठकबाट निर्वाचन घोषणापत्र लेखन समिति, निर्वाचन परिचालन समिति र प्रत्यक्ष उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गरिएको जानकारी पनि आयोगलाई दिइयो । वरिष्ठ अधिवक्ता हरिहर दाहालले विधानअनुसार विशेष महाधिवेशन वैध रहेको दाबी गरे ।
आयोगका अनुसार कांग्रेसका फरक–फरक पक्षबाट आएका कागजातको अध्ययन कानुन महाशाखाले गरिरहेको छ र उपलब्ध प्रमाणका आधारमा यथाशीघ्र निर्णय गर्ने प्रयास हुनेछ । उम्मेदवारी दर्ताको समय नजिक भएकाले आयोगको निर्णय संवेदनशील हुने देखिएको छ ।